मुख्य सामग्री पर जाएँ
गीता मैत्री अंक ७जनवरी से जून २०२४
१४Linguistic Kaleidoscope

श्रीमद्भगवद्गीताको सामान्य विवेचना

के हो श्रीमद्भगवद्गीता?

“नासतो विद्यते भावो नाभावो विद्यते सतः” सत्यमा असतको र असत्यमा सतको भाव हुँदैन। अर्थात ज्ञानमा अज्ञानको र अज्ञानमा ज्ञानको भाव हुँदैन। श्रीमद्भगवद्गीता वास्तवमा सत्यज्ञानको पुँज हो। गीता- सामान्य अर्थमा भगवद्गीता भनेको सत्यपुँज हो। मानव जीवनलाई सफल बनाउने सुत्र हो। वरत्र र परत्र दुवै अवस्थाको कल्याणकारी दर्शन हो। महाभारतको युद्ध-मैदान, कुरुक्षेत्रको मध्यभागमा बसेर भगवान श्रीकृष्णले अर्जुनलाई देखाउनु भएको जीवन दर्शन नै भगवद्गीता हो। यसमा १८ अध्याय तथा ७०० श्लोक रहेका छन्। यो पुस्तक हरेकदिन २ घण्टा बुझेर पाठ गर्ने गरेमा जीवनका हरेक सफलता प्राप्त गर्न सकिन्छ। सोचेको कुरा पुग्छ। दिनको दुई घण्टा परम सत्ताको ध्यानयोग, भक्तियोग र ज्ञानयोगमा जीवन समर्पण गर्न सक्नु भयो भने प्रकृतिले सबै दिन्छिन। कुनै चिन्ता गर्नुपर्ने कारण नै बाँकी रहँदैन। त्यसैले गीता पढ्नेहरु गरिव, असहाय, वा दीनदुखी हुँदैनन्। जीवन सफलपार्ने, मस्त र खुशीपार्ने, भगवानको नजिक पुर्याउने अर्थात् ज्ञान, धर्म, कर्म, र सत्यकोमार्ग देखाउने निर्देशक सिद्धान्त नै श्रीमद्भगवद्गीता हो।

किन पढ्ने श्रीमद्भगवद्गीता?

“योग: कर्मसु कौशलम्” योगपूर्ण कर्मसन्यासयोग प्राप्तगर्न अर्थात् कर्ममा कौशलता हासिलगर्न श्रीमद्भगवद्गीता पढ्नुपर्छ। जीवन मायाले भरिएको छ। सम्बन्ध, तेरोमेरो, परिवार, धनसम्पत्ति, अध्ययन, व्यवसाय, नोकरी आदि इत्यादिमा नै हाम्रो जीवन जेलिएको छ। यो जेलिएको-बाँधिएको बन्धक जस्तो जीवनले स्वतन्त्रता खोजिरहेको हुन्छ। जीवनदेखि हारेर कति मान्छेहरु जोगी-सन्यासी भएका हुन्छन। घरपरिवार त्यागेका हुन्छन। संसार एउटा हिलो हो। यहि हिलोमा सुन्दर कमलको फूल फुलेको हुन्छ। हो यो मायावी संसार मै बसेर अर्थात यहि सामाजिक परिवेशमै बसेर सुख, शान्ति, समृद्धि, र शिद्धी प्राप्त गर्न श्रीमद्भगवद्गीता पढ्ने गरिन्छ। सजिलै यो भवसागर पारगर्ने नाउ नै भगवद्गीता हो। केहि आशा नै गर्नु पर्दैन चाहिने जति सबै प्राप्तगर्न गीता अध्ययन गर्नुपर्छ। संकराचार्य, माधवाचार्य, तथा रामानुजाचार्यको

विचमा भाष्यमा केहि मतभेद भए पनि परमतत्वमा कुनै भेद छैन। द्वेत-अद्वेत चेतना भन्दा धेरै माथिको वेदान्त दर्शन नै श्रीमद्भगवद्गीता हो।

कसले पढ्ने श्रीमद्भगवद्गीता ?

“न कर्मणामनाराम्भान्नैष्कर्म्यं पुरुषोअश्नुते” – कुनै कर्म छोड्नु पर्दैन केवल नकारात्मक सोच त्यागे पुग्छ। त्यसैले सफल, खुसि, र समृद्ध हुन चाहाने सबैले पढ्ने हो। जीवनका हरेक प्रश्नको उत्तर भगवद्गीतामा पाइन्छ। त्यसैले भगवद्गीता ज्ञानको सागर–ज्ञानेश्वरी हो। दु:खको कारण नै अज्ञानता हो। दु:ख दुष्कर्मको परिणाम हो। सत्कर्म गर्नुस कहिले पनि दु:ख आउँदैन।ज्ञान, ध्यान, कर्मसन्यास र भक्तिमा पूर्ण आनन्द छ। त्यसैले गीता कर्मवीरहरुले पढ्नु पर्छ। शिक्षक, प्राध्यापक, लेखक, डाक्टर, इन्जिनियर, व्यापारी, किसान, राजनीतिज्ञ, प्रशाशक, आदि जो आफ्नो कर्ममा शिद्धि चाहन्छन – सुख, शान्ति, समृद्धि चाहन्छन सबैले गीता पढ्नुपर्छ। भगवद्गीतामा कुनै जात, धर्म, वर्ग, उच, निच, विभेद केहि छैन। भगवानको नजरमा को ठुलो को सानो ? को धनि को गरिव ? को छूत को अछूत? दलित, जनजाति, महिला तथा सिमान्तिकृत समूहले झन गीता अध्ययन गर्नु जरुरि छ। सबै सांसारिक तुतुमेमे भन्दा माथि उठेर धर्म, अर्थ, काम, मोक्ष्य प्राप्तगर्न श्रीमद्भगवद्गीता सहि मार्ग हो।

कहिले पढ्ने श्रीमद्भगवद्गीता ?

“ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम्” ज्ञान प्राप्तिको लागी अथवा कर्म कौशलताकोलागी योगी स्वरूप सफलता प्राप्तगर्नु सबैको धर्म हो। त्यसैले हरवक्त, हरपल भगवान श्री कृष्णको गीत गाइरहने हो। गीता भनेकै भगवानको गीत हो। हरपल कर्म गर्ने, अर्पण गर्ने, हरपल हरेक चिजलाई प्रेम गर्ने, अर्पण गर्ने, हरपल भक्ति गर्ने अर्पण गर्ने, भक्तिपूर्ण त्याग नै श्रीमद्भगवाद्गीताको सार हो। गीताले देखाएको बाटो हिंड्नु नै गीता पढ्नु हो। सत्यको मार्ग हिंड्नु हो। सामान्यतया बिहान ब्रह्ममुहुर्तमा (४:३०मा) उठेर, नित्यकर्म, ध्यान-योग सकेर, बिहान ५ बजेदेखि ७ बजेसम्म गीता अध्ययन गर्नुभयो भने दिनभरीलाई उन्नत उर्जा प्राप्त हुन्छ। संस्कृत, नेपाली, हिन्दी, अंग्रेजी भाषामा गीता पढ्ने गरियो भने सबै भाषा, संस्कृति, सभ्यता, इतिहास, भूगोल, दर्शन, मनोविज्ञान, अर्थशास्त्र सबै विषयको भरपर्दो ज्ञान प्राप्त हुन्छ। केवल समयमा सुत्ने (९:३०) र समयमा उठ्ने (४:३०) बानी लगाउनु अनिवार्य हुन्छ। धेरै मान्छेमा यो समस्या हुन्छ र समयमा आफ्नो लक्ष प्राप्तगर्न सक्दैनन्। त्यसैले दुखी हुन्छन। पुजा-पाठ, श्राद्ध-हवन, विबाह-ब्रतबन्ध, अन्तिम संस्कार आदि जुनसुकै कर्मगर्दा गीतापाठ गर्नुपर्दछ।

कसरी पढ्ने श्रीमद्भगवद्गीता?

प्रकृतिको इच्छा विना केहि सम्भव छैन। आफूभित्रको परमात्माको अनुभूतिले आत्मालाई जागृत गराउनु पर्दछ। जागृत(आत्मा)पुरुषले प्रकृति(शरीर)लाई जगाउनु पर्दछ। पूर्णरुपले भगवद्गीतामा भक्तिभाव जगाउनु पर्दछ। सफा, शान्त, उज्यालो, पवित्र स्थानमा आसन स्थापना गरेर, स्नान गरेर, सुद्ध-सफा बस्त्र लगाएर, ध्यानमुद्रामा, सिधा बसेर, एक स्वासमा एक श्लोक भन्दै प्राणायाम शैलीमा, पूर्ण श्रद्धाले, मन मस्तिस्कलाई विश्वरूप भगवान नारायणमा समर्पित गरेर पढ्नु पर्दछ। सर्वधर्मान परित्याज्य मामेकम शरणं ब्रज – सबै आस्था विचार त्यागेर भगवानको शरणागती भएर, शब्द-शब्द केलाएर, बुझेर, सुद्धसंग निरन्तर अध्ययन गर्योभने, पढेको सबै सम्झिन्छ। गीता परिवारको अनुभव तथा विधिको आधारमा अध्याय १२ भक्तियोगबाट सुरुगर्दै अध्याय १५ पुरुषोत्तम योगहुँदै , र अध्याय १६ दैवाशुरसम्पदविभागयोग अध्ययन गर्दै अरु अध्याय अध्ययन गर्न सजिलो हुन्छ। दिनको दुईवटा श्लोक यादगर्ने वानी गरियोभने एकवर्षमा आरामले सबै अध्याय कण्ठस्थ हुन्छ।

कुन श्रीमद्भगवद्गीता पढ्ने?

विभिन्न प्रकाशनका आधारमा अहिलेसम्म लगभग एकअरव भगवद्गीताका पुस्तकहरु विक्री भैसकेका छन्। गीताप्रेस गोरखपुरले मात्रै लगभग ४० करोड गीताका पुस्तक प्रकाशन गरेर विक्रि गरिसकेको छ। विश्वभरि धेरै प्रकारका गीताका पुस्तक पाइन्छन। श्रीमद्भगवद्गीता यति सामान्य विषय होइन जो सुकैले वर्णन गर्न सकोस। भगवानको गीतकोअर्थ बुझ्न खुद नै भगवानको प्रियपात्र हुनुपर्छ। कसैको पनि तत्वविवेचना यथार्थको गहिराईमा पुग्न सकेको हुँदैन। सत्य लेख्न पहिले सत्य बुझ्नुपर्छ। सत्यको भक्तिमा पूर्णरुपले समाहित नभएसम्म श्रीमद्भगवद्गीताको छेउमासम्म पनि पुग्न सकिंदैन। त्यसैले १९२३मा झन्डै १०१ वर्ष अघि स्थापित गीताप्रेस गोरखपुरद्वारा प्रकाशित गीताका पुस्तक अरु लेखक तथा प्रकाशककाभन्दा उत्कृष्ट छन्। सफल-सिद्ध जीवनको मार्गदर्शन नै श्रीमद्भगवद्गीता हो। परमपुज्यगुरु गोविन्ददेव महाराजजीको छत्रछायामा गीता परिवारले अनलाइन पद्धतिमा निशुल्क विश्वका १५ भाषामा (नेपाली सहित) श्रीमद्भगवद्गीता सिकाइ रहेको छ । डा. आशु गोयल, तथा डा. संजय मालपाणी दाजुहरुको प्रतक्ष्य निगरानीमा विश्वभरीका सातलाख गीताअनुरागीहरुले अध्ययन गरिरहेका छन् । सारिका अग्रवाल दिदीको नेतृत्वमा “गीता परिवार नेपाल”ले विश्वभरी रहेका नेपालीभाषीहरुलाई गीता परिवारमा जोड्दै लागिरहेको छ। गीता परिवारले प्रकाशन गरेको “सरल पठनीय श्रीमद्भगवद्गीता” शुद्ध उच्चारण सिक्नको लागी अत्यन्तै उपयोगी छ। गीता परिवारका साधकहरुको सहयोगले यो पुस्तक विश्वभरी सजिलै उपलब्ध हुन्छ।

जय श्रीकृष्ण

जय श्रीपशुपतिनाथ

-डा. बिपी बडाल, नेपाल

मूल अंक के पृष्ठ देखें ३ पृष्ठ
मूल अंक, पृष्ठ ११३मूल अंक, पृष्ठ ११४मूल अंक, पृष्ठ ११५